५७ दल चुनावी मैदानमा, थ्रेसहोल्ड पार गर्दै ६ दलले मात्र खोल्यो संसद प्रवेशको ढोका
  • प्रमुख खबर

फागुन २७, काठमाडौं ।।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार(आज)सम्पन्न भएसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका अधिकांश दल संसद प्रवेशको दौडबाट बाहिरिएका छन्।

कूल ५७ दलले संयुक्त निर्वाचन चिन्हसहित प्रतिस्पर्धा गरेपनि न्यूनतम मत सीमा (थ्रेसहोल्ड) पार गर्न नसक्दा ५१ दलले भने संसद्मा स्थान बनाउन सकेनन्।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा खसेको कूल सदर मतमध्ये कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दललाई मात्र सिट बाँडफाँटमा सहभागी गराउने कानुनी व्यवस्था छ। यही प्रावधानका कारण सिमित दल मात्र संसद प्रवेशको अवस्थामा पुगेका हुन्।

समानुपातिकतर्फ देशैभर १ करोड ७ लाख ३९ हजार १ सय १५ सदर मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सबैभन्दा अगाडि देखिएको छ। रास्वपाले ५१ लाख ३९ हजार २ सय ३५ मत प्राप्त गरेको छ।

दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३ मत ल्याएको छ भने नेकपा (एमाले)ले १४ लाख ४ हजार ८ सय ५४ मत पाएको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख ५ हजार ७ सय ७३ मत प्राप्त गरेको छ।

श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सय ४९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ३ लाख २९ हजार ४ सय ७२ मत हासिल गरेको छ। यी ६ दलले मात्र तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्दै संसद प्रवेशको ढोका खुला गरेका छन्।

यस्तै यसपटक धेरै चर्चामा रहेका र विभिन्न क्षेत्रीय प्रभाव भएका दलहरू भने थ्रेसहोल्ड नकटाउँदै बाहिरिएका छन्। जनमत समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दर्जनौँ दलले न्यूनतम मत सीमा पार समेत गर्न सकेनन्।

आयोगका सहप्रवक्ता कुलबहादुर जि.सि.का अनुसार समानुपातिक प्रणालीमा देशभर राखेका सम्पूर्ण निर्वाचन क्षेत्रलाई एक निर्वाचन क्षेत्र मानी मतदाताले दललाई मत दिने व्यवस्था छ। त्यसपछि दलले प्राप्त गरेको मतको अनुपातका आधारमा प्रतिनिधिसभामा सिट बाँडफाँट गरिन्छ।

यसैबीच आयोगले अर्को महत्वपूर्ण व्यवस्था पनि स्मरण गराएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै दलले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्