चैत्र २५, काठमाडौं ।।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) ले आफ्ना प्रिपेड सेवाअन्तर्गतका २८ दिने प्याकेजको समयावधि बढाएर ३० दिन पुर्याएको छ । टेलिकमले पहिलो चरणमा ‘कम्बो-२९९ प्याक’ को समयावधि मङ्गलबार रातिदेखि नै लागू हुने गरी ३० दिन कायम गरेको हो ।
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल टेलिकमका पदाधिकारीबीच भएको छलफलपछि यो व्यवस्था तत्काल कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ । टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलका अनुसार हाल एउटा प्याकेजमा समयावधि थप गरिसकिएको र आगामी ११ वैशाखसम्म २८ दिने अवधिका अन्य सबै प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसकिनेछ ।
यसअघि २८ दिनको प्याकेज हुँदा ग्राहकले महिनामा दुई पटकसम्म रिचार्ज गर्नुपर्ने वा प्याकेज दोहोर्याउनुपर्ने अवस्था थियो । नयाँ व्यवस्था लागू भएसँगै अब महिनामा एक पटक रिचार्ज गर्दा पुग्नेछ, जसले ग्राहकको खर्च व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
ग्राहकले पुरानै मूल्यमा थप दुई दिन सेवा उपभोग गर्न पाउने भएकाले यसबाट डेटा, भ्वाइस तथा एसएमएस प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । टेलिकमले यस सुधारलाई उपभोक्तामैत्री कदमको रूपमा व्याख्या गर्दै यसले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेको छ ।













