गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह चैत्र २८ गते, ४४ विद्यार्थी दीक्षित हुँदै
  • प्रमुख खबर

चैत्र २६, पोखरा ।।
गण्डकी विश्वविद्यालय नेपालकै पहिलो प्रदेशस्तरीय विश्वविद्यालय हो । यस विश्वविद्यालय गण्डकी प्रदेश सरकारले वि. स.२०७६ सालमा प्रदेशमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने, अनुसन्धान र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र विश्वविद्यालयलाई “प्रदेशको बौद्धिक केन्द्र” का रूपमा विकास गर्ने उद्देश्य सहित स्थापना गरिएको हो ।

यसै विश्वविद्यालयले आफ्नो पहिलो ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। चैत २८ गते पोखरा–३२ मालमुलस्थित आफ्नै प्रांगणमा हुने समारोहमा विभिन्न शैक्षिक कार्यक्रमका ४४ जना विद्यार्थी दीक्षित हुनेछन्।

दीक्षान्त कार्यक्रमलाई व्यवस्थित बनाउन ‘गण्डकी विश्वविद्यालय दीक्षान्त समारोह सम्बन्धी कार्यविधि २०८२’ र ‘पदक तथा प्रमाणपत्र सम्बन्धी नियमावली २०८२’ तयार गरी सोही आधारमा कार्यक्रम सञ्चालन गरिने बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।

विषेशगरी ६ वटा शैक्षिक कार्यक्रम अन्तर्गत ७ सय ५० विद्यार्थी अध्यनरत रहेको यस विश्व विद्यालयको प्रथम दीक्षान्त समारोहमा बीएसएमका ११, बीआईटीका १८ र बी फार्मका १५ गरी ४४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिनेछ।

पत्रकार सम्मेलनमा बोल्दै यसका कुलपति इन्द्रप्रसाद तिवारीले उत्कृष्ट नतिजा हासिल गर्ने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिने र प्रत्येक कार्यक्रमबाट एक–एक जना उत्कृष्ट विद्यार्थीलाई उपकुलपति पदक दिइने व्यवस्था गरिएको जानकारी दिएका छन्।

उनका अनुसार दीक्षान्त समारोहलाई अझ गरिमामय बनाउन पाँच उपसमिति गठन गरिएको छ। यस्तै विद्यार्थीहरूका लागि पोशाकसमेत निर्धारण गरिएको छ । जहाँ पुरुषका लागि दौरासुरुवाल वा पाइन्ट–कोट, टोपी र कालो जुत्ता तथा महिलाका लागि साडी–चोलो, कोट र जुत्ता वा चप्पल अनिवार्य गरिएको छ। यससँगै विश्वविद्यालयले उपलब्ध गराउने गाउन, स्कार्फ र टोपी लगाउनुपर्ने समेत उनले बताए ।

यस्तै कुलपति तिवारीले आगामी शैक्षिक सत्रदेखि नयाँ कार्यक्रमहरू थप गर्ने योजना रहेको पनि बताए। यद्यपि अन्य कलेजलाई सम्बन्धन दिने विषयमा तत्काल कुनै योजना नरहेको उनले स्पष्ट पारे।

त्यस्तै उपकुलपति कृष्णराज अधिकारीले यस विश्वविद्यालयले बजारको मागअनुसार व्यावहारिक र प्राविधिक विषयमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिरहेको बताए।

विशेषगरी फर्मेसी र स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्ने उद्देश्यले विश्वविद्यालयले आफ्नो ध्यान केन्द्रित गरेको छ।

निकट भविष्यमा बायोमेडिकल, कम्प्युटर तथा सिभिल इन्जिनियरिङ जस्ता विषय सञ्चालन गर्ने तयारी समेत गरिएको छ।

अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै विश्वविद्यालयले हालै ‘गण्डकी रिसर्च प्रोग्राम’ र ‘गण्डकी रिसर्च म्यानेजमेन्ट प्रोग्राम’ सुरु गरेको उनले बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) सँग सहकार्य गर्दै शोधार्थीहरूलाई अनुसन्धानवृत्ति प्रदान गर्ने योजना पनि अघि बढाइएको उनले स्पष्ट पारे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्