बालेन शाहको र्‍याप विवादमा, साइबर ब्युरोमा उजुरी दर्ता
  • प्रमुख खबर

वैशाख ४,काठमाडौं।।

प्रधानमन्त्री बालेन्द्र शाहले करिब १२ वर्षअघि गरेको एक ‘र्‍याप ब्याटल’ भिडियोलाई लिएर विवाद चुलिएको छ। उक्त भिडियोले समाजमा नकारात्मक सन्देश फैलाएको आरोपसहित प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरिएको छ।

संविधानसभा सदस्य सुनिलबाबु पन्तले सो भिडियो हटाउन माग गर्दै उजुरी दिएका हुन्। उनका अनुसार र्‍यापमा प्रयोग भएका केही शब्दहरूले बलात्कारलाई उक्साउने खालको सन्देश दिएको र महिला तथा लैंगिक अल्पसंख्यक समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याएको आरोप लगाइएको छ। पन्तले यस विषयमा सामाजिक सञ्जालमार्फत पनि निरन्तर प्रश्न उठाउँदै आएका थिए।

साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीका अनुसार पन्तले इमेलमार्फत उजुरी पठाएका थिए, जुन शुक्रबार दर्ता गरिएको हो। त्यस्तै, सोही विषयमा सम्बन्धित समुदायका अन्य व्यक्तिहरू पनि ब्युरोमा उपस्थित भई थप निवेदन दिएका छन्।

उजुरी दर्तापछि साइबर ब्युरोले उक्त र्‍याप ब्याटल भिडियोमा प्रयोग भएका शब्दहरू र त्यसको प्रभावबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्