शिशुवादेखि खुदी खोला पुलसम्म निर्माण भएको करिब ४.१४ किलोमिटर सडक उद्घाटन
  • प्रमुख खबर

वैशाख १०, पोखरा ।।
पोखरा-३०, शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ ।

उक्त सडक खण्ड पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिहीबार(आज) एक कार्यक्रमका बीच
उद्घाटन गरेका हुन् ।

यो सडक खण्ड नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित सडक हो ।

यस अवसरमा मेयर आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताएका छन् ।

“हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्, उनले भने । यो साना दु:खले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलि पल्ट भएको पनि होइन ।” पछिल्लो समय पोखरामा ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालनमा रहेको समेत मेयर आचार्यले बताए ।

शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व विकास बैङ्ककै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा व्यक्त गरे।

यस्तै कार्यक्रममा तालचोक बेगनास सडक निर्माणमा भइरहेको ढिलाइ प्रति उनले गहिरो चिन्ता व्यक्त गर्दै आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोध लगायतका कारण निर्माण कार्य विलम्ब भइरहेको उनले बताए।

उक्त सडक निर्माणका लागि अन्तिम पटक म्याद थपिएकाले सो अवधि भित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गरिदिन उनले आग्रह पनि गरे।

यसै अवसरमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माणतर्फको यात्रा सह्रानीय रहेको बताए।

उनले विषेशगरी पोखरा महानगरपालिका रुपा गाउँपालिकाको छिमेकी पालिका भएको नाताले आफूहरू। दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको बताए ।

ऐतिहासिक मार्गका रूपमा स्थापित शिशुवा सिसाघाट अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको सडक नमुना सडकका रूपमा निर्माण भएको उनले बताए ।

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले पोखरा महानगरपालिका नागरिकहरूको अपेक्षा अनुसार सेवामा पहुँचका पूर्वाधारहरू निर्माणमा प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा यस आयोजनाका फोकल पर्सन इ.नवीन गौतमका अनुसार शिशुवादेखि खुदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो ।

विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्