वैशाख १२, पोखरा ।।
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा पोखरामा विशेष फोटो प्रदर्शनी आयोजना गरिने भएको छ। नेपाल फोटो पत्रकार संघ, कास्कीले यस दिवसलाई अर्थपूर्ण बनाउने उद्देश्यसहित फोटो प्रदर्शनी गर्न लागेको हो।
संघका अध्यक्ष राम गुरुङका अनुसार वैशाख १३ गते आइतबार पोखरा–३, नदिपुर स्थित कोटयार्ड (मिनिमार्ट) को प्राङ्गणमा “फोटोमा ०६२, ०७२ र ०८२” शीर्षकको प्रदर्शनी आयोजना गरिनेछ। संघका अध्यक्ष गुरुङले नेपालमा पछिल्ला तीन दशकमा भएका महत्वपूर्ण घटनाक्रमहरूलाई फोटोमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको जानकारी दिए।
उनका अनुसार २०६२/०६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प त्यसपछिको नयाँ संविधान जारी र केही महिना अघि मात्र भएको जेनजी आन्दोलनका जस्ता ऐतिहासिक घटनालाई फोटोको माध्यमबाट एउटै थलोमा प्रस्तुत गरिनेछ। “ती घटनाहरूको दृश्य अभिलेखलाई जनतामाझ ल्याउने हाम्रो प्रयास हो,” उनले भने।
यस्तै कार्यक्रम संयोजक दुर्गा रानामगरले पोखरा महानगरपालिका वडा नं. ३ को सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएकी छन् ।“फोटो पत्रकारिताको महत्व उजागर गर्न हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छौँ, यस वर्षको प्रदर्शनी विशेष रहनेछ,” उनले भनिन् ।
प्रदर्शनी बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरूले खिचेका करिब ६० वटा फोटोहरू राखिनेछन्। ती फोटोहरूले नेपालले पार गरेको संघर्ष, परिवर्तन र ऐतिहासिक यात्रालाई जीवन्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यस्तै आयोजकका अनुसार यस फोटो प्रदर्शनीले नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिनने विश्वास लिइएको छ। साथै, विभिन्न समयमा भएका घटना एउटै थलोमा हेर्न पाउनुलाई संस्थाले इतिहासको जीवन्त दस्तावेज रुपमा लिएको छ ।
वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले उक्त दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।












