वैशाख १५, पोखरा ।।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पोखराका दुई पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित हुने भएका छन् ।
दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको यो पत्रकारिता पुरस्कार र सम्मान नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको प्रतिभा छनोट समितिको बैठकले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्नका लागि गरिएको सिफारिसलाई अनुमोदन गरेको हो ।
प्रतिभा छनोट समितिमा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य थिए ।
यस सम्मानको पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैंयाँ, दोसल्ला र सम्मान पत्र रहेको महासंघ कास्कीले जनाएको छ । पत्रकारद्वयलाई आगामी वैशाख २२ गते दयाशंकर पालिखेको स्मृति दिवसको दिन सम्मान महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर २ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत बस्नेतले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरेका थिए ।
त्यस्तै पोखरा-७, नुवारथोकमा जन्मिएका बराल २०५५ सालदेखि पत्रकारिमा सक्रिय छन् । बराल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत छन् ।
उनले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्समा पनि काम गरेका थिए । पत्रकाद्वयलाई पत्रकारितामार्फत् समाज, राष्ट्र र लोकतन्त्रमा पु¥याएको योगदान स्वरुप सम्मान गर्न लागिएको अध्यक्ष बरालले बताए ।











