बैशाख २०, काठमाडौं ।।
आज ३४औं विश्व प्रेस स्वतन्त्रता दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। “स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र”जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।
विषेशगरी सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । यस दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव लगायतले शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै उनले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् ।
राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ ।
सूचना संकलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।’ यसै अवसरमा आज पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले पनि विविध कार्यक्रमको आयोजना गरेको छ।











