बैशाख २१, काठमाडौं ।।
सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ ।
विभागले सोमबार(आज) उनको घर र कार्यालय दुवैमा छापा मारेको हो । अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले छापा मारेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बानियाँको हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस) र सोही स्थानमा रहेको उनको घरमा समेत छापा मारेर विभागले कागजपत्र लिएर गएको छ ।
विषेशगरी उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको थियो । उनको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत उठाउने कार्य गरिएको स्रोतले बताएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए । बागमती प्रदेशको मुख्यमन्त्री भएतापनि अहिले पनि विभिन्न व्यवसायीक कम्पनीहरूमा उनको लगानी छ ।











