जेठ २२,काठमाडौं।।
महानायक राजेश हमालले नेपालको सीमा सम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक प्रकृतिका विषय भएको स्पष्ट पारेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि अनिवार्य हुने बताएका छन्। यस्ता गुणको अभावमा राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विषयमा दिएको अभिव्यक्तिको व्यापक विरोध भइरहेका बेला हमालले यो विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्।
उनका अनुसार सीमा सम्बन्धी बहसमा प्रायः ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’लाई एउटै रूपमा बुझ्ने गरिन्छ, तर यी दुईबीच मौलिक अन्तर छ।हमालले ‘सीमापार अतिक्रमण’लाई स्थानीय तथा प्रशासनिक प्रकृतिको समस्या बताएका छन्। नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकबीच शताब्दीयौँदेखि व्यापार, खेतीपाती तथा सामाजिक सम्बन्ध कायम रहेको उल्लेख गर्दै उनले नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउनु वा क्षतिग्रस्त हुनु, तथा बस्ती विस्तार जस्ता घटनाहरू ऐतिहासिक र भौगोलिक कारणले उत्पन्न हुने बताएका छन्।
उनका अनुसार यस्ता समस्या रणनीतिक विस्तारका प्रयासभन्दा बढी स्थानीय र प्रशासनिक प्रकृतिका हुन्छन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ।
तर ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ भने पूर्णतः फरक विषय भएको उनले स्पष्ट पारेका छन्। यस अवस्थामा कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुने, सडक निर्माण गर्ने, प्रशासनिक संरचना खडा गर्ने, सुरक्षा निकाय परिचालन गर्ने तथा सरकारी नक्सा संशोधन गर्ने जस्ता गतिविधि सञ्चालन हुने उनले उल्लेख गरेका छन्।
हमालले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई ‘राज्य-प्रायोजित भू-अतिक्रमण’को प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।









