सत्तामा पुगेर विपक्षलाई सिध्याउछु भन्ने सोच खतरनाक हो: सुशीला कार्की
  • प्रमुख खबर

जेठ २२,काठमाडौं।।

पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सत्तामा पुगेपछि विपक्षलाई समाप्त पार्ने मानसिकता लोकतन्त्रका लागि घातक हुने बताएकी छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तामा पुगेको भरमा अर्को पक्षलाई पूर्ण रूपमा निस्तेज पार्ने सोचतर्फ सरकार लाग्नु नहुने स्पष्ट पारिन्।

उनले वर्तमान सरकारका नेतृत्वकर्ता र सत्तारुढ का नेताहरूलाई विगतबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइन्। “सरकारमा आएका नवयुवाहरूले इतिहासलाई मनन गर्दै मुलुक सञ्चालन गर्दा अझ राम्रो परिणाम दिन सक्छ,” कार्कीको भनाइ थियो।

कार्कीले सत्तारुढ दलका नेताहरूलाई आफूहरू सधैं युवा रहिरहँदैनन् भन्ने यथार्थलाई पनि सम्झन आग्रह गरिन्। साथै उनले विपक्षी दलहरूले समेत सरकारको काममा अनावश्यक अवरोध सिर्जना गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताइन्।

उनले उदाहरण दिँदै अन्तरिम सरकारको सफलतालाई स्मरण गर्न आग्रह गरिन् र सत्तारुढ तथा विपक्षबीचको स्वस्थ प्रतिस्पर्धाले नै मुलुकको विकासमा टेवा पुग्ने धारणा राखिन्।

पूर्वप्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले नै मुलुकको नेतृत्व गर्ने भएकाले उनीहरूको भूमिकालाई आफूले कहिल्यै कमजोर नआँकेको समेत स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्