जेठ ३१, पोखरा ।।
लोकदोहोरी गायिका तथा साहित्यकार सावित्री गिरी सुकुका दुई फरक विधाका कृति एक समारोहकाबीच लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा पोखरामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले अवकाश मुक्तक सङ्ग्रह र छालहरू ओढेर गजल सङ्ग्रहको लोकार्पण गर्दै मुक्तक तथा गजल विधाका विविध आयामबारे प्रकाश पारे ।
उनले गिरीको चतुष्पदीय संरचनाको मुक्तक र समसामयिक विषयको गजल साधना प्रशंसा योग्य रहेको बताए ।
वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले सावित्री गिरी सुकुको गायन कलाबाट प्रभावित भएको स्मरण गर्दै पछिल्लो समय देखिएको साहित्यिक साधना प्रशंसा योग्य रहेको धारणा राखिन् ।
मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले पोखरा साहित्य लेखनका लागि उर्वर भूमि रहेको बताउँदै गिरीलाई जहाँ रहेतापनि आफ्नो कलमलाई विश्राम नदिन सुझाए ।
बिम्ब कवि रमेश श्रेष्ठले गिरीका कृतिलाई मनको कुनामा पोको पारिएका मायाका रूमालका उपमा चिनाउँदै कलमले अवकाश नलिओस् भन्ने शुभेच्छा व्यक्त गरे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सांस्कृतिक विभागका सल्लाहकार मदनराज थापाले सावित्री गिरी सुकुलाई बहुआयामिक प्रतिभाका रूपमा चित्रण गरे ।
पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले सावित्री गिरीको सिर्जनशीलता मौलाउँदै जाओस् भन्ने धारणा राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष देवेन्द्र के.सी.ले सावित्री गिरीमा केही गरिरहुँ भन्ने सिर्जनशील क्षमताको उपज नै एकैसाथ दुई कृतिको लोकार्पण रहेको बताए ।
गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले स्रष्टाहरू सिर्जनालाई परिस्कृत र परिमार्जनमा लाग्नु पर्नेमा जोड दिए ।
नेपाली लेखक संघ गण्डकीका अध्यक्ष दीपक समीपले विदेश र स्वदेश गर्दागर्दै गिरीले एकैसाथ दुई कृति लिएर आएको देख्दा खुसी लागेको धारणा राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले गिरीको साहित्य यात्रा लोकदोहोरी गायनको पृष्ठभूमिबाट अगाडि बढेकाले उनका सिर्जना गेयात्मक रहेको बताए ।
अनेसासका सचिव कल्याण पन्तले नेपाली साहित्यको श्रीवृद्धिमा अनेसासले यस्तै प्रकृतिका अनुष्ठान गर्दै आएको जानकारी गराए ।
पोखरेली युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाले गिरीको गजल तथा मुक्तक लेखन समानरूपले अगाडि बढेकोमा खुसी व्यक्त गरे ।
गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्ष गौरी तमूले महिलालाई लेखकमा आफ्नै खाले व्यवहारिक चुनौती रहेको अवस्थामा सावित्रीले प्रवासमा रहेर पनि दुई कृति प्रकाशन गर्नु साधनाकै प्रतिफल भएको बताइन् ।
कार्यक्रममा साहित्यकारहरू सरस्वती श्रेष्ठ सरु, लक्ष्मी थापा, तेजबहादुर गुरुङ, आकाश अधिकारी, चन्द्रावती वाग्ले, त्रुपक, बिर्सना बस्नेत, दिलकुमारी पौडेल, निकेश गिरी, गीता अधिकारी जुन, शुभ शर्मा, शिव त्रिपाठी, पद्मा रिजाल, रमा खतिवडा, गायत्री पराजुली, सन्तोष तिमिल्सिना, सीता बराल भण्डारीलगायतले कृति भित्रका गजल तथा मुक्तक वाचन गरे ।









