असार ३,दाङ।।
सामाजिक सञ्जालमा खुकुरी देखाई युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीका अनुसार मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मगरलाई उनकै घरबाट विभिन्न प्रकारका लागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनामा संलग्नहरूविरुद्ध ३–४ प्रकारका मुद्दा दर्ता हुने तयारी भइरहेको प्रहरीले जनाएको छ।










