साउन १९, काठमाडौं।।
तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न
प्रधानमन्त्री बालचन्द्र शाह(बालेन) र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच मंगलबार(आज)भेटवार्ता भएको हो ।
सो भेटवार्तामा गृहमन्त्री गुरुङ आफैं मधेश गएर त्यहाँको अवस्थाबारे जानकारी लिनेदेखि अन्य कामहरु पनि गरेको प्रधानमन्त्री शाहलाई जानकारी गराएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यससँगै तराई क्षेत्रमा घटेको घटनालाई लिएर आगामी दिनमा कस्तो सुरक्षा रणनीतिन अपनाउनुपर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ ।
यही साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जना नागरिकको घटनास्थलमै मृत्यु भएको थियो ।
सुुनसरी घटनामै घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । यही घटना अन्य जिल्लामा समेत फैलिएपछि सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यहाँको स्थितिलाई नियन्त्रणमा लिन सरकारले नेपाली सेनालाई मैदानमा खटाएको थियो।
विषेशगरी गरी प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीचको आज भएको भेटवार्तामा यही घटनाक्रमको पछिल्लो स्थितिबारे छलफल भएको बताइएको छ ।









