रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को उजुरी दिन आह्वान
  • प्रमुख खबर

साउन २०, काठमाडौं ।।

नेपाल रेडक्रस सोसाइटीले आफ्ना मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ ।

रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको हो । आउँदो भदौ ३ गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ ।  संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले जानकारी दिए ।

उनका अनुसार रेडक्रसको पुरानो साख पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको हो । उनले यसअघि दिएको ३५ दिनको म्याद सकिएको र फेरि २० दिन थप गरिएको जानकारी दिँदै आउँदो भदौ ३ गतेसम्ममा तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथिति सम्बन्धमा उजुरी पठाउन आह्वान गरे ।

उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्ने प्रस्ट पार्दै उजुरी गर्नका लागि इमेल: [email protected], निःशुल्क हटलाइन नं ११३० तथा ह्वाट्सएप नं ९७४१६९५०९७ मासमेत उजुरी गर्न सकिने व्यवस्था गरिएको रेडक्रसले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्