फेवातालमा कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
  • प्रमुख खबर

भाद्र १९, पोखरा ।।

पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृ त्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारका चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोलीसमेत उद्धार कार्यमा खटिएको थियो।

कारमा चार जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि जीएमसी अस्पताल पठाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

उद्धार टोलीले बिहान करिब ५ः५५ बजे फेवातालको पानीभित्रबाट थप दुई जनालाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। तर चिकित्सकले बिहान ६ः२१ बजे दुवै जनालाई मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा भारतको बिहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादव रहेका छन्। उनको परिचय आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।
अर्का मृतक करिब ४० देखि ४५ वर्ष उमेरका पुरुष रहेका छन्। उनको नाम, थर र ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको भारतीय नम्बर BR 05 BB 6759 को कारलाई बिहान करिब ६ः२० बजे क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्