असोज २८, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको जनाएको छ । महाशाखाले यस वर्षको मनसुन बुधबार(आज)बाट नेपालको सबै भू-भागबाट बाहिरिएको बताएको हो ।
सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि शुरु भई २ अक्टोबरसम्म बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि मात्र मनसुन बाहिरिएको छ ।
यस्तै यस वर्ष नेपालबाट मनसुन बाहिरिने सरदर मितिको अवधिमा सरदर वर्षा भएको छ । यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ । तराई र पहाडको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ ।
मौसमविदहरुका अनुसार नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएकाले आगामी केही दिनसम्म मौसम घमाइलो हुने छ । पहाडी भेगका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भएपनि समग्रमा दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान छ ।








