प्रस्तावित राजदूतहरूको सुनुवाइ सकियो, आजै निर्णय गरिँदै
  • प्रमुख खबर

Oplus_131072

असोज २८, काठमाडौं ।।
१३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ। बुधबार(आज) उनीहरूको संसदीय समितिमा भएको सुनुवाइ सकिएको हो । तर प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने या नगर्ने निर्णय भने समितिले गर्न बाँकी छ ।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो । आज सुनुवाइ सकिएसँगै समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् ।

आन्तरिक छलफल सकेर पुन आजै बैठक बसेर निर्णय गर्ने तयारी छ । जसमध्ये भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो ।

यस्तै इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरेको थियो ।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सोमबार यता लगातार भएको थियो । सुनुवाइ भएकामध्ये साउदीका सुनार, जापानका थापा र मलेसियाका खरेलका सवालमा सांसदहरूले नैतिक आचरणमा प्रश्न उठाएका छन्, यद्यपि समितिको निर्णय आउन भने बाँकी नै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्