कार्तिक ११, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार (आज)को खेल पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।
पोखराको लागि आजको खेल पहिलो हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । सुदूरपश्चिम यसअघि नै एनपिएलको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।
अघिल्ला दुई संस्करणमा प्लेअफ पुग्न समेत नसकेको पोखरा यसपटक सुरुवातदेखि नै लय समात्ने लक्ष्यमा छ। यता, पहिलो खेलमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम हारबाट माथि उठ्दै लयमा फर्कने दाउमा रहेका छन् ।
कुशल भुर्तेलको कप्तानीमा उच्च मनोबलका साथ मैदान उत्रन लागेको पोखराले यस सिजनमा बंगलादेशका शाकिब अल हसनसहित अनुभवी विदेशी खेलाडी टोलीमा समावेश गरेको छ ।
त्यस्तै सुदूरपश्चिम भने दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा अनुभवी नेपाली र विदेशी खेलाडीको संयोजन सहित मैदान उत्रँदै छन् । यस्तै हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी शुरुआत गरेका छन् । चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले अनि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो ।
तेस्रो संस्करणको एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । यो प्रतियोगिता आउँदो मंसिर ५ गतेसम्म चल्नेछ ।







