मौसम:पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
  • प्रमुख खबर

कार्तिक २९,काठमाडौं।।

पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो हिमाली भूभागसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै, सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । सोमबार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्