प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व छठः प्रदेश प्रमुख भट्ट
  • प्रमुख खबर

कात्तिक २९, पोखरा ।।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजा आराधाना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताए ।

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने उल्लेख गरे । प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक छठ पर्व रहेको उनको भनाई छ ।शुभकामना सन्देशमा उल्लेख छ – ‘शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउन सघाइरहेको हुन्छ । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।’

खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं, पोखरालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको उल्लेख गर्दै उनले यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले हामीबीच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुने बताए ।

प्रकृतिको पूजा गरिने छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपाललाई शान्ति र अमनचयन कायम गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्