मंसिर ९, पोखरा ।।
नेपालमा पछिल्लो समय प्रतिजैविक प्रतिरोध (एएमआर) जनस्वास्थ्यको लागि गम्भीर चुनौतीको विषय बन्दै गएको छ। सामान्य संक्रमण हुँदा पनि चिकित्सकको सल्लाहबिना मनोमानी ढंगले क्लिनिकबाट एन्टिबायोटिक किनेर खाने, स्वास्थ्यमा देखिएको समस्या कम भयो भन्दैमा डाक्टरले दिएको औषधिको मात्रा समेत आफ्नै ढंगले घटाउने वा छाड्ने प्रवृत्तिले प्रतिजैविक प्रतिरोधको समस्या गम्भीर देखिएको हो । नोभेम्बर १८ देखि २४ तारिकसम्म देशैभर सञ्चालन भएको विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रमअन्तर्गत मंगलबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा पोखरामा भएको प्रतिजैविक प्रतिरोध (AMR) सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित विज्ञहरूले यस्तो बताएका हुन् ।
“एक स्वास्थ्य, एक अभियान, प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम” भन्ने नाराका साथ मनाइएको यस सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हिजो भएको अन्तरक्रिया कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन तथा एएमआर फोकल पर्सन डा. शरदचन्द्र बरालले नेपालमा ब्याक्टेरिया मात्र होइन, फङ्गस (ढुसी), भाइरस तथा परजीवीविरुद्ध प्रयोग भइरहेका कतिपय औषधिहरू बिस्तारै प्रभावहीन हुँदै गएको बताए ।
उनले नेपालमा एन्टिबायोटिकको प्रयोग मात्र बढेको छैन कुन औषधि कति र कसरी प्रयोग भइरहेको छ भन्ने विषय चिन्ताको विषय भएको बताए । उनका अनुसार विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकलाई मुख्यतः तीन समूहमा विभाजन गरेको छ। सामान्य संक्रमणमा प्रयोग गर्न उपयुक्त औषधिलाई ‘एक्सेस’, बढी सावधानी अपनाउनुपर्ने औषधिलाई ‘वाच’ र गम्भीर संक्रमणमा अन्य औषधिले काम नगरेको अवस्थामा मात्र प्रयोग गर्नुपर्ने औषधिलाई ‘रिजर्भ’ गरी तीन समूहमा छुट्टाइएको छ । तर नेपालमा सन् २०२४ मा प्रयोग भएका एन्टिबायोटिकमध्ये सामान्य संक्रमणमा प्राथमिकताका साथ प्रयोग गर्नुपर्ने ‘एक्सेस’ समूहका औषधिको हिस्सा ३६.२ प्रतिशत मात्रै रहेको उनले बताए । जबकि बढी सावधानी अपनाउनुपर्ने ‘वाच’ समूहका औषधिको प्रयोग उच्च रहेको छ । यस्तो औषधिको हिस्सा ४७ देखि ७४ प्रतिशतसम्म पुगेको डा.बरालले जानकारी दिए ।
अस्पतालहरुमा गरिएको सर्वेक्षणमा पनि प्रयोग भएका एन्टिबायोटिकमध्ये ७०.१ प्रतिशत ‘वाच’ समूहका औषधि रहेको पाइएको छ। यो भनेको एकदम चिन्ताको विषय भएको बताए । विषेशगरी उनले एन्टिबायोटिकको उच्च प्रयोग बालबालिका र जेष्ठ नागरिकको हकमा बढी प्रयोग भएको बताउँदै यस्ता समूहका व्यक्तिहरूका परिवारले पनि औषधि पसलबाट चिकित्सकीय परामर्शबिना एन्टिबायोटिक किनेर सेवन गर्न दिने गलत बानीलाई त्याग्नुपर्ने उल्लेख गरे। उनले एन्टिबायोटिक सेवन गर्दा चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्नुपर्ने, आफूखुसी औषधि सुरु गर्ने वा बीचमै छाड्ने काम गर्न नहुने र बाँकी रहेको औषधिको सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
उनका अनुसार औषधिको प्रयोगपछि बाँकी रहेकालाई जथाभावी फाल्दा वा त्यसको सही तरिकाले व्यवस्थापन नगर्दा त्यसका अवशेष पशुपन्छी, माछा तथा पानीको स्रोतमा पुग्न सक्ने र त्यसले वातावरण तथा मानव स्वास्थ्यमा समेत असर पार्न सक्ने स्पष्ट पारे । कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रले गण्डकी प्रदेशमा एएमआरको अवस्था, यसको समस्या, न्यूनीकरणका सम्भावित उपायबारे प्रस्तुतीकरण गरे ।
उनले उक्त विषयमा प्रस्तुतीकरण गर्दै चिकित्सकको सल्लाह बिना र शरीरको चेकजाँच बिना एन्टिबायोटिक जथाभावी रूपमा प्रयोग गर्न नहुने बताए। मानव शरीरको रोगप्रतिरोधात्मक अवस्थालाई स्थिर बनाउन सबैभन्दा पहिले हामीले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। यसै क्रममा उनले शरीरमा केही समस्या भयो भन्दैमा एन्टिबायोटिक सेवन गर्नुपूर्व राम्रोसँग शरीरको चेकजाँच गरेर मात्र समस्याको सही पहिचान भएपछि औषधि सेवन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा.किरण पाण्डेले पशु स्वास्थ्यमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग, जोखिम तथा एक स्वास्थ्य अवधारणाको महत्वबारे जानकारी गराए। उनले पशुपन्छी उपचारमा प्रयोग हुने कोलिस्टिनको उत्पादन, पैठारी र बिक्री वितरणमा रोक लगाउने निर्णय र प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना २०८०/८१–२०८४/८५ तथा राष्ट्रिय भेटेरिनरी प्रतिजैविक प्रयोगसम्बन्धी निर्देशन लागू गरिएपनि नीति र नियमको प्रभावकारी कार्यान्वयन तथा अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइए ।
विषेशगरी मानिसमा देखिने संक्रामक रोगमध्ये ६० प्रतिशत जनावरबाट सर्ने र नयाँ देखिने संक्रामक रोगमध्ये कम्तीमा ७५ प्रतिशत जनावरबाट उत्पन्न हुने सन्दर्भमा पशुपन्छी, मासु, दूध तथा वातावरणमा हुने प्रतिरोधले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने बताए । यसको नियन्त्रणको लागि सबै एक जुट हुनुपर्ने बताए।
कार्यक्रममा प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी अधिकृत साजन बरालले एन्टिमाइक्रोबियल औषधिको सुरक्षित प्रयोगबारे प्रस्तुतीकरण गरेका थिए। सो क्रममा उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार धेरै जसो बिरामीहरूले डाक्टरको प्रेस्क्रिप्सनबिना औषधि पसलबाट एन्टिबायोटिक खरिद गर्नुका प्रमुख कारणमा क्लिनिक गएर बिना शरीरको चेकजच बिना औषधि आफैँ प्रयोग गर्ने बानी, कतिपय अवस्थामा ग्रामीण भेगका मानिसहरू अस्पतालको पँहुचबाट टाढा हुनु, आर्थिक अवस्थाका कारण खर्च धान्न नसक्नु र क्लिनिकमा सजिलै औषधि पाइनु रहेको स्पष्ट पारे ।
उनले प्रतिजैविक प्रतिरोधको समस्या नेपाल वा भारतको मात्र नभई विश्वव्यापी समस्याका रूपमा तीव्र गतिमा फैलिरहेको छ । यही अवस्था निरन्तर रहने र यसविरुद्ध प्रतिकार्य गर्न अझै ढिलाइ गर्ने हो भने भविष्यमा सामान्य घाउ वा चोटबाट हुने संक्रमणकै कारण पनि मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएको बताए। किनभने संक्रमणविरुद्ध प्रभावकारी नयाँ पुस्ताका एन्टिबायोटिक विकास गर्न ठूलो लगानी र वर्षौँको समय लाग्ने हुनाले यो अवस्था नआउला भन्न नसकिने स्पष्ट पारे।
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले एन्टिबायोटिक औषधिको गलत प्रयोग रोक्न सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने बताए। उनले स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकता नागरिकलाई निरोगी बनाउनु रहेको उल्लेख गर्दै मन्त्रालयको सफलता रोग लाग्ने नागरिकको संख्या घटाउन सकेमा मात्र हुने बताए । एन्टिबायोटिकको अव्यवस्थित प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको भन्दै यसको नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसार सन् २०२१ मा ब्याक्टेरियाजन्य एएमआरका कारण अनुमानित ४७ लाख मानिसले ज्यान गुमाएका छन् । त्यस्तै सोही वर्ष नेपालमा एएमआरकै प्रत्यक्ष कारणले अनुमानित ४ हजार ७०० जनाको मृत्यु भएको छ भने १९ हजार ५ सयभन्दा बढीको मृत्यु एएमआरसँग सम्बन्धित रहेको छ । यसका प्रमुख कारणमध्ये एन्टिबायोटिकको अनावश्यक तथा अत्यधिक प्रयोगलाई मानिएको छ।








