इलेक्ट्रो मेकानिकल संघ नेपालको १९ औं साधारण सभा तथा नवौं अधिवेशन आज सम्पन्न भएको छ । संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलको अध्यक्षतामा पोखरा स्थित लाली गुराँस क्याटरिङ एण्ड पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद कोइरालाको प्रमुख अध्यक्षता रहेको सो कार्यक्रम भव्य र सफलताका साथ सम्पन्न भएको हो । सो कार्यक्रममा संघका महासचिव माधव प्रसाद तिवारीले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उनले “एकतामा बल र संघमा शक्ति हुन्छ” भन्ने मूल उद्देश्यका सााथ २०५५ सालमा स्थापित यस संघले नयाँ–नयाँ प्रविधिको अनुसरण गर्दै सुरक्षित कार्य र गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले संघका सदस्य एवं प्राविधिकहरुलाई विभिन्न किसिमको तालिम तथा गोष्ठीहरुको आयोजना गर्दै आएको जानकारी गराएका छन् ।
संघका सदस्य एंव प्राविधिक कर्मचारीहरुको सुरक्षाका लागि दुर्घटना विमा र कोरोना विमा समेत गरेको पनि प्रतिवेदनमा समावेश गरिएको छ । उनले कोरोनाले गर्दा संघले लिएको लक्ष्य पुरा गर्न नसकेका बाँकी रहेका कार्यहरुलाई विस्तारै पुरा गर्दै लाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
त्यस्तै उक्त ९ औं अधिवेशनबाट कृष्ण राज गौतमको अध्यक्षतामा ९ कार्य समिति सदस्य चयन भएको छ । सो अधिवेशनबाट उपाध्यक्षमा इन्द्रलाल श्रेष्ठ, महासचिवमा पून माधव प्रसाद तिवारी, सचिव रेशम गुरुङ्ग, कोषाध्यक्ष सन्दिप पौडेल निर्वाचित भएका छन् अन्य सदस्यहरु समेत रहेका छन् । उक्त कार्यक्रममा नव आगन्तुक हिमचुलि इलेक्ट्रोनिक्स् वर्कस, असरफ इलेक्ट्रिक वर्कस र समिर इलेक्ट्रि वर्कसलाई सदस्यता पत्र वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पो.उ.वा.संघका अध्यक्ष नारायण प्रसाद कोइरालाले संघ संस्था गठन गर्दा त्यसको उद्देश्यकोबारेमा राम्रोसंग जानकार हुनुपर्ने बताएका छन् । उनले संघ संस्था स्थापनामा मात्र जोड नदिइ त्यसप्रति उत्तरदायि र जिम्मेवार हुनुपर्ने पनि जानकारी गराएका छन् । प्रमुख अतिथि कोइरालाले देशमा दक्ष जनशक्तिको अभाव भएको कारणले विदेशिन लागेका युवाहरुलाई यही तालिमको व्यवस्था गरि दक्ष जनशक्ति उत्पादन गरि उनीहरुलाई कसरी व्यवसायिक बनाउन सकिन्छ भनेर आफुले त्यस विषयमा अध्ययन गरेको समेत जनाएका छन् ।
यस्तै कार्यक्रममा संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलले यस व्यवसाय संचालनमा राज्यबाट हुने गरेका विभिन्न असुविधा र समस्याहरुलाई निराकरण गर्न यस संघ स्थापना भएको जानकारी दिएका छन् । उनले विभिन्न आरोहअवरोह पार गर्दै आज संघ यहाँसम्म आउन सफल भएको र यसको निरन्तरताका लागि फुटेर होइन जुटेर अगाडि बढ्नु पर्ने जोड दिएका छन् ।
त्यस्तै सोही कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष अरुण थापाले राखेका छन् भने शुभकामना मन्तव्य संघका सल्लाहाकार बलभद्र नकर्मीले दिएका छन् ।