आगामी तीन दिन मुलुकका विभिन्न भूभागमा आंशिकदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसममा पनि परिवर्तन देखिएको महाशाखाको भनाइ छ ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ।
पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ।
गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ। पहाडमा भूक्षय र पहिरो एवं तराईमा बाढी आउनसक्ने भएकाले हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न अधिकारी तथा गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्थामा राख्न पनि प्राधिकरणले आग्रह गरेको छ।
सम्भावित वर्षा एवं बाढीबारे थाहा पाउन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ मा फोन गर्न र तत्काल खोज, उद्धार र राहतका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।