पौष २८ गतेबाट संचालन हुने ११ औं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा
  • प्रमुख खबर

आगामी बुधबारदेखि शुरु हुने ११ औं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । युनाईटेड क्लबको आयोजनामा यही पौष २८ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने ११ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

सो पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष तथा एघारौं पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन् । उनले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव संचालन गरिने बताउँदै दर्शकहरुलाई ढुक्क भएर महोत्सवमा सहभागी हुन आग्रह पनि गरेका छन् । महोत्सवमा अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्थासंगै थर्मल गनबाट ज्वरो चेक गरी प्रवेश गराइने उनले जानकारी दिएका छन् । उनले दर्शकहरुलाई महोत्सवमा भौतिक दुरी कायम गराइने बताउदै महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले लाइन नबसिकन घरमै बसेर टिकट काटेर आउन आग्रह समेत गरेका छन् ।

अध्यक्ष श्रेष्ठले प्रभु एपबाट दर्शकहरुले टिकट काट्न सक्ने व्यवस्था समेत गरिएको बताउँदै महोत्सव स्थल प्रवेशद्धारमा पैसा हालेर टिकट लिने मेसिन राखिने भएकाले पनि टिकट काउण्टरमा त्यति भिडभाड नहुने बताएका छन् । माघ ९ गतेसम्म संचालन हुने महोत्सवमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरुको प्रस्तुतीसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुद्धारा लाईभ कन्सर्ट हुने महोत्सव प्रचार–प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिएका छन् । महोत्सवमा २ सय ४७ वटा स्टलहरु रहने छन् भने २ लाख ५० हजार दर्शकहरुले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको समेत प्रचार–प्रसार संयोजक थापाले बताएका छन् ।

यस महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पु्याउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु्याउने, गण्डकी प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी गराउने उद्देश्य लिएको छ । त्यस्तै महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रर्दशनी तथा झांकि प्रदर्शनी, औधोगिक उत्पादनको प्रर्दशनी एंव बिक्रि, हस्तकला सामानहरुको प्रर्दशनी एंव बिक्रि, सूचना प्रविधिहरुको प्रदर्शनी तथा जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी एंव उचित मुल्यमा बिक्रि वितरण, पर्यटन प्रवद्धनका सामाग्रीहरुको प्रदर्शनी तथा जानकारी, चिडियाखानको स्मारक प्रदर्शनी हुने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्