रासायनिक मल भित्र्याउने जिम्मेवारी पाएको साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडद्धारा मल भित्र्याउन शुरु
  • प्रमुख खबर

पोखरा ।

यस वर्षका लागि रासायनिक मल भित्र्याउने जिम्मेवारी पाएको साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले मल भित्र्याउन शुरुवात गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफना डिपोमार्फत वितरण भइरहेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी अषाढको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन मल ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी ३ हजार मेट्रिक टन भारतको कोलकत्ता बन्दरगाहमा आइसकेको र १७ हजार मेट्रिक टन अर्थात ४ लाख बोरा डिएपी आफुहरुको डिपोबाट वितरण गरिरहेको कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले बताएका छन् ।

उनका अनुसार २२ हजार मेट्रिक टन अर्थात ४ लाख ४० बोरा रासायनिक मल कोलकत्ता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने पनि जानकारी दिएका छन् ।

सरकारले सुम्पिएको दायित्वलाई पूरा गर्न कर्पोरेशन अग्रणी रहेको प्रबन्धक झाले बताएका छन् । उनले आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिएमा यसको जिम्मेवारी बहन गर्न कर्पोरेशन सक्षम भएको पनि जनाएका छन् ।

रोपाईको समयमा देशभर रासायनिक मलको चरम अभाव भईरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले गरेको छ । कर्पोरेशनले युरिया मल इण्डोनेसियाबाट झिकाएको हो । विशेषगरी विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोउत्कृष्ट मानिन्छ ।

सरकारले यसपटक कर्पोरेशनलाई कुल १ लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कुल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनीलाई जिम्मेवारी दिएको छ ।कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्ब भन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ ।

कृषि मन्त्रालयका अनुसार विशेषगरी यस सिजनका धान र मकै बालीका लागि मात्र २ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्दछ भने वार्षिक रुपमा ५ लाख मेट्रिक टन मल खपत हुने गर्दछ ।नेपालका ७० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न रहेका छन् ।

नेपालको कुल ग्रार्हस्थ उत्पादन अर्थात जिडिपी मा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । कृषि उत्पादनको मुख्य बाली धानबाली भएको र जिडीपीमा धानको ७ प्रतिशत योगदान छ ।

यतिबेला मनसुन सक्रिय तर सरकार निष्क्रिय बन्दा किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै मलविहिन अवस्थामा रहेका छन् । आइतबार सरकारलाई सदनले किसान मारमा परेको जनाउँदै तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशन समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्