पोखरा ।
सरिता गुरुङ्ग
नेपाली खेलकुदको गौरवपूर्ण आयोजनाका रुपमा संचालन हुँदै आएको वृहत खेलकुद अन्तर्गत नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अब जम्मा ३० दिन मात्र बाँकी रहेको छ । करिब ३९ वर्षपछि यस राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ ।
यस प्रतियोगिता संचालनको मिति नजिकिदै गर्दा राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिता अन्र्तगतका ३६ खेलका खेलस्थलहरु आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।
करिब ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको यस प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न ७ जिल्लामा मात्रै खेल खेलाउने टुङ्गो लगाइएको र सोही अनुरुप खेल स्थलहरु निर्धारण समेत भइसकेका छन् ।
आगामी आश्विन २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुने यस प्रतियोगिताका लागि कास्की सहित म्याग्दी, गोरखा, पर्वत, स्याङ्जा,बाग्लुङ र नवलपुरमा आयोजना हुने राखेपका सदस्य एंव प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङ्गले जानकारी दिएका छन् ।
उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा राष्ट्रिय खेलकुद अन्र्तगतका कम्तिमा पनि एक खेल खेलाउने भनिएपनि अन्तिममा आएर विभिन्न कारणले जम्मा ७ वटा जिल्लामा बाहेक अन्य ४ जिल्ला तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने बताएका हुन् । तर अधिकांस खेलहरु भने पोखरामा नै केन्द्रित भएर खेलाइने गुरुङ्गले बताएका छन् ।
उक्त नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने ३६ वटा खेलहरुमध्य सुटिङ र पुरुष क्रिकेट काठ्माण्डौंमा तय गरिएको छ । यी दुई खेलमध्य क्रिकेट भने काठ्माण्डौंमा जारी भइरहेको छ ।
त्यस्तै यस प्रतियोगिता अन्र्तगत बाँकी खेलहरु एथलेटिक्स, ब्याडमिण्टन, महिला क्रिकेट, महिला र पुरुष फुटबल, टेनिस, बक्सीङ, पुरुष भलिबल, जिम्नास्टीक, महिला र पुरुष ह्याण्डबल, सफ्ट टेनिस, स्क्वास, उसु, पुरुष बास्केटबल, आर्चरी र फेन्सीङ्ग पोखरा रंगशालामा हुने भएका छन् ।
अन्य खेलहरु महिला बास्केटबल पिएन क्याम्पस, जुडो र फुलकन्ट्याक्ट कराते प्रदर्शनी केन्द्र, टेबल टेनिस कोल्माबाहकोट समाज घर, शारीरिक सुगठन सभागृह, पौडी फिस्टेल एकेडेमी, महिला हक्की गण्डकी बोर्डिङ स्कुल, पुरुष हक्की हेम्जाको गौरीशंकर खेल मैदान, गल्फ हिमालयन गल्फ कोर्श, साईक्लिङ्ग रानीबन, ट्रायथेलन लेकसाइड, प्याराग्लाईडिङ सराङ्गकोट, महिला र पुरुष रक्बी भण्डारढिक खेल मैदान, महिला र पुरुष कवड्डी रञ्जित पार्टी प्यालेस, भारत्तोलन उद्योग वाणिज्य संघ साथै महिला र पुरुष खो खो ह्याण्डबल एकेडेमी पोखरामा संचालन हुने भएका छन् ।
यस्तै बाँकी खेलहरु बद्धिचाल गोर्खा, महिला र पुरुष सेपाक्टाक्रो नवलपुर कावासोती, तेक्वान्दो म्याग्दी कभर्डहल, कुस्ती थारु संग्राहलय नवलपुर कावासोती,कराते पर्वत सेमिकभर्डहल कुस्मा र आई टि एफ तेक्वान्दो बाग्लुङ कभर्डहल बाग्लुङ आयोजना हुने जनाइएको छ । खेलस्थल तथा खेल तालिका सार्वजनिक कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मार्फत पहिलो पटक खेलाडीको अनलाइन दर्ता शुरु भएको जानकारी दिएका छन् ।
यस्तै प्रतियोगिताको नतिजा सहज रुपमा सबैले पाउने गरि अनलाइनको माध्यबाट तत्कालै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको बताउँदै राखेपले यस राष्ट्रिय प्रतियोगितालाई केन्द्रित गरेर नेशनल स्पोट्स काउन्सिल एप्स् संचालनमा ल्याएको छ । सो एप्स्को आज युवा तथा खेलकुद मन्त्री गहतराजले उद्घाटन समेत गरेका छन् ।