ट्राफिक चेकजाँचमा कार्वाहीमा पर्नेको संख्यामा वृद्धि
  • प्रमुख खबर

गणेश रामदाम
पोखरा ।।
ट्राफिक चेकजाँचमा कार्वाहीमा पर्नेको संख्यामा वृद्धि भएको छ ।गत आ व को भन्दा यस वर्षको प्रथम चौमासिकमा वृद्धि भएको हो ।  गत आ व २०७८/७९ प्रथम चौमासिकमा १४,६१४ जनालाई कार्वाही गरिएकोमा यस आ व २०७९/८० को प्रथम चौमासिकमा २६,६४८ जना सवारी चालकलाई कार्वाही गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार यस वर्ष मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनेको संख्या पनि  वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ पहिलोको चौमासिक तथ्यांकअनुसार ७५५ जनालाई मा.प.से. मा कार्वाही गरिएकोमा यस वर्ष  चार गुणा वृद्धि भएको छ । आ.व. २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार ३,०३४ सवारी चालक कार्वाहीमा परेका छन । जसमा सबै भन्दा धेरै मोटरसाइकल चालक १,७६९ जना, जिप/कार चलाउने १,२३४ जना र ट्रक/टेङ्कर चलाउने ३१ जना गरि कुल ३,०३४ जना लाई मा.प.से.मा कार्वाही गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए ।

राजस्वमा वृद्धि

ट्राफिक कार्वाहीबाट यस आ व को प्रथम चौमासिकमा राजस्व गत आ व को प्रथम चौमासिकको भन्दा दोब्बरले वृद्धि भएको छ । आ व २०७८/७९ को प्रथम चौमासिकमा १ करोड ३२ हजार ५ सय  रुपैयाँ राजस्व संकलन भएकोमा यस आ व २०७९/८० को प्रथम चौमासिकमा २ करोड २८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस आ.व २०७९/८० मा मा.प.से. कार्वाहीबाट अहिले सम्मकै धेरै राजस्व संकलन भएको छ । यस वर्षको प्रथम चौमासिकमा ३,०३४ चालकलाई मा.प.से कार्वाही गर्दा ३९ लाख ५ हजार रुपैया राजस्व संकलन भएको छ । गत आ व को प्रथम चौमासिकमा ७५५ जना लाई मा.प.से कार्वाही गर्दा ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

सवारी चेकिङ्गले दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा कमि

जिल्ला ट्राफिक कार्यालय कास्कीको सवारी चेकिङ्गलाई सक्रियताका साथ गरिरहेको छ । जसको परिणाम राजस्वमा वृद्धि भएको छ भने सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा पनि कमि आएको छ । गत आ व को प्रथम चौमासिकमा ३६ वटा सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । यस आ व मा ४१ सवारी दुर्घटना १३ जनाले ज्यान गुमाएका छन भने ४० जना घाइते भएका छन ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार यस आ व मा जनचेतनाका कार्यक्रममा पनि वृद्धि  भएका छन   गत आ व २०७८/७९ पहिलो चौमासिकमा ८५० वटा जनचेतनाका कार्यक्रममा ५० हजार ५ सय जना सहभागी थिए । यस आ व २०७९/८० को पहिलो चौमासिकमा ९४८ पटकको जनचेतनामूलक कार्यक्रममा ६८ हजार ७० जनालाई  प्रशिक्षण गराइएको सूचना अधिकारी पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्