पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गरेको हो ।
उक्त न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलताका साथ अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिएका थिए ।
पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए ।
विशेषगरी यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको थियो । यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल समेत थिए ।
पहिलो अन्तरराष्ट्रिय उडानबाट ओर्लेका यात्रुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरेका थिए ।
यस्तै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय चार्टड उडान अवतरपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख धनराज आचार्यले चिनिया नागरिकहरुलाई पोखरा भ्रमणको निम्तो दिएका छन् । उनले पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने पनि बताएका छन् । यो उडानसँगै चीनका विभिन्न शहरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको पनि उनले स्पष्ट पारेका छन् ।
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात बीआरआईु परियोजनाअन्तर्गत भएको बताएका छन् । पोखरा विमानस्थलमा आज भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले यस्तो बताएका हुन् ।
अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गतेदेखि सञ्चालित उक्त विमानस्थलबाट यसअघि आन्तरिक उडान मात्रै हुँदै आएकोमा आज पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको हो ।
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि २०७३ साउन १८ गतेदेखि यो विमानस्थलको निर्माण सुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर भ्याटसहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।