काठ्माण्डौं ।।
अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने भएका छन् । उनी सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यतालिका रहेको एक उच्च स्रोतले जनाएको छ ।
नेपालको भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफा मूलक संस्थाका प्रतिनिधि र व्यवसायी लगायतसँग भेट गर्ने समेत स्रोतले बताएको छ ।
उनले अमेरिकी सहयोगममा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुमा भ्रमण गर्ने समेत जनाइएको छ । यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुने विश्वास लिइएको छ ।
यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकारको रक्षालगायतका विषयमा विस्तृतरुपमा छलफल हुनेछ । क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । उनले सन् २०२१ मा मेरिल्याण्ड राज्यका डेलिगेट डा ह्यारी भण्डारीको अफिससँगको समन्वयमा नेपालका युवा नेतासँग समेत भर्चुअल माध्यमबाट यस अगाडि नै छलफलसमेत गरिसकेका छन् ।