नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • प्रमुख खबर

काठमाडौं ।।                                                    नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका उनको परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याउँए पनि उनको निधन भइसेको खुलेको छ ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्थे । परिवारका सदस्यहरुका अनुसार राति १ बजे नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा करिब २ बजेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वास चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकिकृत समाजवादीका माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।

संविधान सभाका अध्यक्ष, पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए । उनी जनआन्दोलन २०६२/६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्