पोखराको लेकसाइडमा २४ सै घन्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराको आदेश
  • प्रमुख खबर

पोखरा ।।

पोखराको पर्यटकीय केन्द्र लेकसाइडलाई २४ सै घन्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ ।

व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले बुधबार आदेश दिएको हो । देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले २४ सै घण्टा खोल्न आदेश गरेको हो ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए । निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश दिएको हो ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ सै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्