यती एअरलाइन्सको जहाज दुर्घटनाबारे जाँचबुझ प्रमाण संकलन
  • प्रमुख खबर

पोखरा ।।

पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनः विस्तृत निरीक्षण गरी आवश्यक पार्टपूर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात सङ्कलन गरिसकेको जनाएको छ ।

‘नियामक निकायलगायतबाट थप कागजात सङ्कलनको काम भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्ति सहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण एवम् विश्लेषण गर्न लैजाने तयारी भइरहेको छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने छ,’ विज्ञप्तिमा उल्लेख  छ ।

जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७० जनाको निधन भएको थियो भने दुई जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्