चिकित्सकमाथीको आक्रमण विरुद्ध चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा चिकित्सकमाथी प्रहरीले गरेको लाठी चार्जको विरोधमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुुक्त रुपमा सम्बोधन गरेर फर्कने क्रममा उनको सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह घाइते भएका थिए ।

सोही घटनालाई लिएर संघले शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । त्यस्तै संघको आज बसेको केन्द्रिय कार्यकारिणि समितिको आकस्मिक बैठकले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय समेत गरेको छ ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथी भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्धारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सृजना गरिएको प्रति स्तब्ध भएको समेत जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै सो विज्ञप्तिमा, लोकका लागी स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सृजना गर्नु न्यायोचित नभएको पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्