काठ्माण्डौं ।
आउँदो बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको लागी उप–चुनाव हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा प्रतिनिधि सभा सदस्यको उप–चुनाव गर्ने निर्णय गरेको हो ।
यसअघि गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरका साथ निर्वाचित भएका थिए । तर लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।
लामिछानेको पद खारेज भएसँगै उनले चुनाव लडेको क्षेत्रमा अहिले रिक्त रहेको पदलाई परिपुक्ति गर्नका लागि आयोगले उप–चुनावको मिति तोकेको हो । नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी हुँदै कुनै सदस्यको स्थान रिक्त भएका त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाद्धारा पूर्ति गरिने भन्ने व्यवस्था छ ।
आयोगले दिएको जानकारी अनुसार भोलिबाट चैत्र १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने, उम्मेदवार मनोनयन दर्ता चैत्र २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत्र २१ गते, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत्र २२ गते हुने भएको छ ।
त्यस्तै उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम चैत्र २३ गते हुने आयोगले एक विज्ञप्ति जारी जनाएको छ ।