सरिता गुरुङ्ग
पोखरा ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीले अहिले नै राष्ट्रपतिमा उम्मेदवारी नदिने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपालले राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमतिको प्रयास भइरहेको तर आफुहरुको पार्टीले भने यस पदका लागि उम्मेदवारी नदिने बताएका हुन् ।
उनले यस पदका लागि एमालेले जुन ढङ्गबाट रोेइलो गर्ने काम गरेको छ त्यो आवश्यकता नरहेको बताउँदै एमालेलाई राष्ट्रपति दिन नहुने स्पष्ट पारेका छन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्ष नेकपा एमालेबाट नै भएको यस अवस्थामा राष्ट्रपति समेत एमालेलाई नै दिएको खण्डमा यसबाट शक्ति सन्तुलन गुम्ने उनको तर्क रहेको छ ।
उनले देशमा राजनीतिक स्थायित्व कायम गर्न र संविधानको रक्षाको निम्ति राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन आवश्यक भएको र यसका लागी नेकपा एसले सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् । उनले अहिलेको सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिँदै, यो खिचडी गठबन्धन संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध नभएको बताएका छन् ।
अध्यक्ष नेपालले अहिले देशको राजनीति तरल र ओरालो लाग्ने क्रममा भएकोले आफुले कल्पना गरेभन्दा फरक ढंगबाट चलिरहेको बताए । उनले पूर्व राजा ज्ञानेन्द्र शाह झापाको विर्तामोडमा सहभागी भएको कार्यक्रमलाई ईगित गर्दै पछिल्लो समय देश प्रतिगमनको यात्रातर्फ जान थालेको संकेत गर्दै मेची नेदीको किनारबाट प्रतिगमनको यात्रा शुरु हुन लागेको समेत बताए । उनले देश प्रतिगमनको यात्रातर्फ लागेको संकेत देखापर्न थाल्नु वर्तमान सत्ता गठबन्धनकै कारण भएको समेत बताएका छन् ।