पोलिटिकल दवाव र अवाञ्चित प्रभावले कसैको पोष्टिङ र सरुवा नहुनेः भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ
  • प्रमुख खबर

सरिता गुरुङ्ग

पोखरा ।

उप–प्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको गति धिमा भएको भन्दै यसको गति बढाउन सडक कार्यालय पोखरा मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरा आएका मन्त्री श्रेष्ठले राज्य र समाजले विकास एंव समृद्धि खोजेको बताउँदै यसका लागि समृद्धिको गति बढाउन उनीहरुलाई निर्देशन दिएका हुन् । उनले देशमा समृद्धि हासिल गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी रहेको समेत बताएका छन् ।

उनले आफ्नो मन्त्रालयमा सरकारको पुँजीगत बजेटको एक तिहाई बजेट छुट्टाइएको हुँदा समृद्धिको लक्ष्य हासिल गर्न आफुहरुको मन्त्रालयको ठूलो जिम्मेवारी भएको स्पष्ट पारेका छन् । यसका लागि उनले आयोजनाको कार्यान्वयन प्रक्रियालाई तीव्रताका साथ प्रभावकारी रुपमा अघि बढाउन अति आवश्यक भएको बताए ।

मन्त्री श्रेष्ठले पछिल्लो समय कर्मचारीको छवी जनतामा राम्रो नभएको बताए । विशेषगरी आम नागरिकमा कर्मचारी भनेको एक प्रकारले जनतालाई दुःख दिने, कमिसन खाने, ढिलासुस्ती गर्ने जस्ता नकारात्मक छाप भएकोले त्यस दागलाई हटाउनको निम्ति पनि उनले आग्रह गरेका छन् । यसका लागि सरकारले काम गर्ने वातावरण सृजना गर्ने र कर्मचारीहरुलाई न्याय दिने तर कर्मचारीले पनि उत्कृष्ट कामको साथै परिणाम दिनुपर्नेमा जोड दिएका छन् ।

“पोलिटिकल दवाव र अवाञ्चित प्रभावले कसैको पोष्टिङ र सरुवा हुँदैन । कसैको भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । बरु भनसुन गराउन थाल्नु भयो भने काम बिग्रियो भन्ने बुझे हुन्छ” उनले भनेका छन् ।

मन्त्री श्रेष्ठले कतिपय विकासका आयोजनाका कामहरु सम्झौता भएको १० वर्षसम्म पनि पूरा नभएको आफुले देखेको बताउँदै निर्माण व्यवसायीले किन समयमा नै काम गरेन्न भनेर मात्र नबसि अनुगमन गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

यसैबीच उनले फिर्के पुल निर्माणमा भएको ढिलाईप्रति चासो दिएका छन् । आज उनले पुल निर्माण स्थलमा पुगरे अवलोकन गर्नुका साथै निर्माण कम्पनीका प्रतिनिधिलाई तोकिएको मितिमा नै पुल निर्माण कार्य सम्पन्न गर्न निर्देशन पनि दिएका छन् ।

यदि तोकिएको समय सिमा भित्र निर्माण सम्पन्न नभएको खण्डमा भने कारबाहीको भागेदारी हुनुपर्ने स्पष्ट पारेका छन् । २०७५ साल आश्विन ८ गते उक्त पुल निर्माण कार्यको लागि निर्माण कम्पनी शान्ति आरोग्य जेभीसँग सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुसार सो पुल २०७७ चैत्र ३० गतेभित्र सम्पन्न भईसक्नुपर्ने हो । तर कोरोना महामारीका कारण देखाउँदै ७ प्र्रतिशत मात्र काम सम्पन्न भएपछि एक वर्ष पून म्याद थप गरिएको थियो । तर कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थपिएको म्यादभित्र पुल निर्माणको काम जम्मा १० प्रतिशत हुँदा समयमा नै पुल बन्न सकेन ।

यसपछि १२ औं संसोधन अनुसार दोश्रो पटक एक वर्षका लागि म्याद थपिएको छ । सो नयाँ थप म्याद अनुसार आगामी अषाढसम्म सो पुल निर्माण भईसक्नुपर्ने छ । तर अहिलेसम्म पुल निर्माणको काम जम्मा १६ प्रतिशत मात्र भएको छ । जसका कारण अझै पनि यस पुलको निर्माण कार्य समयमै सम्पन्न नहुने देखिएको छ । जसका कारण यस पुल सम्पन्न गर्नका निम्ति फेरी पनि तेस्रो पटक एक वर्षको म्याद अझै थप्नुपर्ने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्