पोखरा ।।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सोमबार बुद्ध एयरको जहाजसँग चिल ठोक्किएको छ । जहाज विमानस्थलमा अवतरण गर्न केही समय बाँकी रहँदा चिलसँग ठोक्एिको हो ।
उक्त चिल जहाजसँग ठोक्एिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फेसबुकमा “इस्यू ब्रो” नामका प्रयोगकर्ताले सो भिडियो अपलोड गरेका थिए । सामाजिक सञ्जालमा उक्त भिडियो आएपछि सर्वसाधारणहरु चिन्तीत भएका छन् ।
यस भिडियो भाइरल भएसँगै केही सर्वसाधारण पोखरेली आम नागरिकहरुसँग प्रमुख मिडियाले प्रतिकृया लिने क्रममा उनीहरु उक्त भिडियोका कारण चिन्तीत भएको प्रतिकृया दिएका छन् । यसरी उडिरहेको जहाजमा चरा ठोकिनु भनेको गम्भीर विषय भएको जसले कुनैपनि समय अप्रिय दुर्घटना निम्तिन सक्ने भएकोले विमानस्थलले तत्काल समाधानका उपायहरु सोच्नुपर्ने उनीहरुले बताएका छन् ।
यसको लागि ल्याण्डफिल्ड साइड प्रमुख कारण भएको र सो ठाउँमा अझै व्यवस्थित ढंगमा फोहोर व्यवस्थापन गर्न नसक्नु नै यसको मुख्य कारण भएको प्रतिकृया समेत दिएका छन् ।
त्यस्तै उक्त भिडियोबारे विमानस्थलका प्रमुखसँग सम्पर्क गर्दा उनले सो भिडियोमा कुनैपनि आधिकारिक्ता नभएको जानकारी दिएका छन् ।
विशेषगरी पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै ल्याण्ड फिल्ड साइड भएको कारण नै त्यहाँ चराको बाक्लो गतिविधि रहने गर्दै आइरहेको छ । सो गतिविधिका कारण नै हवाई सुरक्षा चुनौती रहेकाले यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने पोखराका सरोकारवालाहरुले बताएका छन् ।