काठ्माण्डौं ।
राष्ट्रपति पदका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो दुवै जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
पौडेलको प्रस्तावकमा शेर बहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्ण बहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्र बहादुर पाण्डे रहेका छन् ।
त्यस्तै यता, नेम्वाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, पृथ्वी सुब्बा गुरुङ्ग, गोकर्ण विष्ट, रघुबीर महासेठ र छविलाल विक छन् भने समर्थकमा योगेश भट्टराई, टोप बहादुर रायमाझी, जुली कुमारी महासेठ, दिल कुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।
कांग्रेसको आज विहान बसेको केन्द्रिय कार्य समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई गएराति राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए ।यस्तै एमाले केन्द्रिय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आज विहान बसेको बैठकले गरेको थियो ।












