पोखरा, १५ फागुन ।।
बाल यौन दुरुपयोगको मुद्दामा जेलमा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र सोमबार रिहा हुने बताए । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।