काठमाडौं ।।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो । जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाउनुभयो । कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाउनुभयो । बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिनुभयो । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ ।
३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । तस्बिर – क्यान