काठ्माण्डौं ।
एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल “समूह बी” मा परेको छ । नेपालसँगै यस समूहमा चीन, म्यानमार र चाइनिज ताइपेई गरि ४ राष्ट्र रहेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले विहीबार सार्वजनिक गरेको ड्र अनुसार “समूह बी” मा उक्त राष्ट्रहरु परेका हुन् ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट खेलमा नेपाल समूह बी को विजेता बन्न सफल भएको थियो । नेपाललाई मिलेको पहिलो चरणको सफलतासँगै दोस्रो चरणको छनोटमा स्थान बनाएको हो । पहिलो चरणबाट समूह विजेत बन्दै आएका ८ टिमलाई दोस्रो चरणमा दुई समूहमा विभाजन गरिएको छ । त्यस्तै “समूह ए” मा अष्ट्रेलिया, भियतनाम, इरान र लेवनान छन् ।
दुवै समूहको शीर्ष दुईमा रहने टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२० महिला एसिनय कपमा छनोट हुनेछन् । त्यहाँ पुग्न नेपालले आफ्नो समूहमा कम्तीमा दुई खेल जित्नुपर्नेछ ।
आयोजक उज्वेकिस्तानसहित अघिल्लो संस्करणको तीन उत्कृष्ट टोली जापान, उत्तर कोरिया र दक्षिण कवरियाले भने सिधै अन्तिम चरणमा स्थान बनाइसकेका छन् ।