हृदयघातका कारण पूर्व राष्ट्रिय फुटबल खेलाडी एंव प्रशिक्षक डम्बरसिंह गुरुङको निधन
  • प्रमुख खबर

पोखरा ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी एंव प्रशिक्षक डम्बरसिंह गुरुङको असामायिक निधन भएको छ । पोखरा–३, नदीपुर निवासी ७१ वर्षीय गुरुङको बुधबार हृदयघातका कारण निधन भएको हो । सन् १९६६ मा बेलायती सेनामा भर्ती भएका उनी सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्यान्डको रजाधानी बैंककमा आयोजना भएको खेलमा समावेश भएका थिए ।

 

यस्तै सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटेनडोर्फको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टिमबाट प्लेमेकरको भूमिकामा खेलेका थिए । उनले कुनै समय आरसीटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए ।

 

ब्रिटिस आर्मीबाट सेवा निवृत्त भएपछि सन् १९६६ मा नेपालको यु–१४ र यु–१६ को प्रशिक्षकको समेत जिम्मेवार सम्हालेका उनले सशस्त्र प्रहरी बलको एपिएफ टिम र त्रिभुवन आर्मी क्लबको प्रशिक्षक समेत रहेका थिए ।

 

त्यस्तै उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा सुरुआती समयदेखि करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए । सन् १९८२ मा ब्रिटिस गोर्खा टिमबाट एन्फा कप पनि खेलेका उनी हाल पोखरामै आराम गरिरहेका थिए । स्वर्गीय गुरुङको श्रीमती, १ छोरा र ३ छोरी रहेका छन् । पारिवारीक श्रोतका अनुसार उनको शनिवार पोखरामा अन्त्येष्टि गरिने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्