गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीहरुले समेत दिए राजीनामा
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिने निर्णय गरेको थियो । त्यसलगत्तै संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र बुझाएका थिए ।

माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले शुक्रबार नै पदबाट राजिनामा दिएका छन् ।

गण्डकी प्रदेश सरकारमा माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई राजिनामा पत्र बुझाएका हुन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारबाट फिर्ताहुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले चाँडै कांग्रेससँग मिलेर नया सरकार निर्माण गरिने र पहिलो कार्यकाल नै सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने बताए ।

माओवादी र राप्रपाको समर्थनमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । तर माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थनमा बनेको सरकारलाई माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको हो । अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

अधिकारीले विश्वासको मत नपाएको खण्डमा कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । कांग्रेसको २७ सांसद भएकाले माओवादी र कांग्रेस मिल्ने वित्तिकै गण्डकीमा बहुमत पुग्छ । त्यस्तै यता, स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले पनि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्