त्रिभुवन आर्मीले जित्यो चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि
  • प्रमुख खबर

विराटनगर ।

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । विराटनगरमा भएको फाइनलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

आर्मीले लिगमा पनि पुलिसलाई पराजित गरेको थियो । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, इमर्सिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने भएका छन् । प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता पुलिसले ४१ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल सुदूरपश्चिम प्रदेशले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ टिम सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्