पोखरा महानगरपालिका वडा नं.१८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो ।
फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो । खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो ।
मापदण्ड विपरीत निर्माण भइरहेको सूचना पाए लगत्तै अनुगमनमा पुगेको नगर प्रहरीले निर्माणमा संलग्न व्यवसायी र जग्गाधनीलाई तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको थियो । तर, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर नै प्रयोग गरि भत्काइएको थापाले बताउनुभयो ।
फिर्के खोला मिचेर त्यसको मापदण्डलाई समेत ख्याल नगरी निर्माण गरिएका सबै संरचनाहरू क्रमशः हटाउँदै जाने तयारीमा महानगरपालिका रहेको प्रमुख धनराज आचार्यले बताउनुभयो । फिर्के खोलाको संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले मापदण्ड विपरीतका कुनै पनि संरचनाहरू निर्माण नगर्न समेत आग्रह गर्नुभयो ।
महानगरपालिका फिर्के खोलाको मापदण्ड पुनरावलोकन गरी नयाँ प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको प्रमुख आचार्यले बताउनुभयो । मापदण्ड वितरित निर्माण गरिएका संरचनाहरू भए आफैले हटाई खोलाको स्वतन्त्र बहावलाई अवरोध नगर्न अनुरोध समेत गर्नुभयो ।
फिर्के खोलाको संरक्षण र सौन्दर्यीकरणका लागि पुनरावलोकन प्रतिवेदन सार्वजनिक भएपछि नयाँ ढङ्गले अगाडी बढ्ने योजनामा महानगरपालिका रहेको छ ।