काठ्माण्डौं ।
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन फेरि दर्ता भएको छ ।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज पौडेलले लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरिपाउँ भनेर पेस गरेको रिट निवेदन दर्ता भएको जानकारी दिएका छन् ।
लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले आज बुधवार दर्ता गर्दै जेठ १७ गते पेसी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपिमात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता पौडेलले बताएका छन् ।
यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उनी उप–चुनावबाट प्रतिनिधि सभामा पुनः निर्वाचित भएका थिए ।