काठ्माण्डौं ।।
सरकारले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न प्रक्रिया अघि बढाएको छ । रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको केहीदिनमै सरकारले कैद माफी गर्ने प्रक्रिया अघि बढाएको हो । यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिनेगरी सरकारले फाइल तयार गरेको स्रोतले जनाएको छ ।
चौधरीको बाँकी कैद सजाय माफीको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेको छ । चौधरीले कानुन अनुसार कैद भुक्तान गरिसकेकाले उनलाई माफी दिँदा संविधान र कानुन विपरीत नहुने सरकारको जिकिर छ । चौधरीलाई जन्मकैद हुने सर्वोच्चको पूर्णपाठ नआइसकेकाले आममाफी दिनको लागि राष्ट्रपति कार्यालय भने अन्योलमा रहेको छ ।
कैलालीको टीकापुरमा २०७२ सालको भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान जाने गरी भएको घटनामा रेशम चौधरी संलग्न रहेको सर्वोच्चको ठहर छ । उनी २०७४ सालदेखि जेलमा छन् । जन्मकैदको सजाय अनुसार उनले २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ । उनी जेलमा रहे पनि उनकै सक्रियतामा खुलेको नागरिक उन्मुक्ति पार्टीले सङ्घीय संसद्ले ३ सिट जितेको छ ।