पोखरामा हुने ओलम्पियनहरुको पूर्नमिलन कार्यक्रमको तयारी पुरा
  • प्रमुख खबर

पोखरा ।।

पोखरामा पहिलो पटक नेपाली ओलम्पियनहरुको पूर्नमिलन कार्यक्रम आयोजना हुने भए संगै तयारी पुरा भएको छ । पूर्नमिलन कार्यक्रम यहि जेष्ठ १९ देखि २१ गते सम्म हुने भएको हो । पोखरामा पहिलो पटक नेपाली ओलम्पियनहरुको पूर्नमिलन कार्यक्रम आयोजना हुँदै गर्दा आफूहरु निकै उत्साहित भएको उनीहरुले जनाएका छन् ।

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले नेपालमा ओलम्पियनहरुको तथ्याङक समेत नभएको अबस्थामा हाल आफुहरुले ९० जनाको नाम संकलन गरेको उल्लेख गर्दै खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आबद्ध हुन ओलम्पियनहरुलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ पूर्नमिलनलगायत अन्य कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको विष्टले जनाएका छन् । पहिलो पूर्नमिलन तथा सम्मान कार्यक्रम सफल भएबाट पनि दोस्रो संस्करणको कार्यक्रम आयोजनाका लागि उत्साहित  भएको उनको भनाई थियो । नेपाली ओलम्पियनहरुको एक मात्र छाता संगठन नेपाल ओलम्पियन्स संघको आयोजनामा हुने दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम समेत रहेको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले १९ औं एसियन गेम्सको संघारमा पोखरामा पहिलो पटक उक्त कार्यक्रम हुनुले खेलाडीहरुलाई उर्जा मिल्ने बताएका छन् । पोखरामा खेलकुदकर्मीलाई राम्रो आतिथ्यता गर्ने शहरको रुपमा रहेको बताए ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उक्त कार्यक्रमले नेपाली खेलकुदको लागि मार्गदर्शक हुने बताए । प्रदेशले अब बार्षिक रुपमा खेलाडीहरुको भेला गर्ने योजना बनाएको बताए ।  ओलम्पियन तथा संघका सदस्य भगवती केसीले एक अर्कोमा परिचित हुने उक्त कार्यक्रमले नेपालका ओलम्पियनहरु सार्वजनिक रुपमा एकै पटक चिनिनु र चिनाउनुले धेरै महत्व हुने बताए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सन् २००८ साल देखि पत्रकारहरु पनि ओलम्पिकमा सहभागि हुन थालेको बताए । पोखरा महानगर खेलकुद परिषदका अध्यक्ष दीपक गोदारले नेपालको पहिचान गराउने खेलाडीहरुलाई पोखरामा स्वागत गर्न पाउनु ठुलो कुरा भएको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पोखरामा ओलम्पियनको भेलाले अनुज पुस्तालाई ठुलो पाठ हुने बताए । पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा उपत्यका बाहिर आयोजना हुने कार्यक्रममा जेष्ठ २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुर्नमिलन तथा सम्मान कार्यक्रम हुने भएको छ । जेष्ठ २१ गते संघको वार्षिक साधारण हुनेछ । सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम हुने ओलम्पियन दिपक विष्टले जनाएका छन् ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो । झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्याङ छ । त्यसमध्ये १० जना स्वर्गिय भएका छन् । केहि ओलम्पियनहरु भने विदेशमा छन् । पोखरामा हुने पूर्नमिलन कार्यक्रममा ५० जना बढी ओलम्पियनहरुको सहभागिता रहने विश्वास लिएको सघले जनाएको छ ।

सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो । सोही संघमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो । कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधिको सहभागिता रहने छ भने कार्यक्रमको स्थानिय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति चयन भएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश, पोखरा महानगरपालिकल, प्रदेश खेलकुद परिषद् गण्डकीको विशेष सहयोग रहेको छ । संघले भविष्यमा गण्डकी प्रदेशमा हुने स्कूल टू ओलम्पिक कार्यक्रममा पनि सहयोग रहनेमा विश्वास जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्