पोखरा ।।
पोखराको प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ गतेदेखि २० गतेसम्म हुने आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा क्लव पोखरा र थ्रीस्टार क्लव भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत माघ १० गते नेपाली सेनाको त्रिभूवन आर्मी क्लवबिरुद्ध राईजिङ स्टार फुटबल क्लव, माघ ११ गते मच्छिन्द्र क्लवबिरुद्ध जाउलाखेल युथ क्लव र माघ १२ गते सशस्त्र प्रहरी बलको एपिएफ क्लवबिरुद्ध नेपाल पुलिस क्लव आमनेसामने हुने प्रतियोगिता संयोजक तथा सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा माघ १३ गतेदेखि १६ गतेसम्म क्वाटरफाइनल खेलहरु सञ्चालन हुनेछन् भने माघ १७ र १८ गते सेमीफाइनल तथा माघ २० गते फाइनल खेल हुने उनले बताए ।
प्रतियोगितामा यस वर्ष एक विदेशी, तीन विभागीयसहित ९ ए डिभिजन क्लव, आयोजक र मोफसलको एक गरेर १२ टीम सहभागि हुने जनाइएको छ । प्रतियोगितामा विभागीय टोलीहरु नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव तथा ए डिभिजन क्लवहरु जाउलाखेल युथ क्लव, मनाङमस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, मच्छिन्द्र क्लव, संकटा क्लव र चर्च व्वाईज युनाइटेड फुटबल क्लव सहभागि हुँदैछन् ।
प्रतियोगितामा यसअघि दुई विदेशी टीम आउने भनिएपनि अन्ततः एक टिममात्र सहभागि हुने भएको छ । प्रतियोगितामा यस वर्ष पारो फुटबल क्लव भुटानले सहभागिता जनाउँदैछ । दिल्ली फुटबल क्लव आउने भनिएपनि अन्तिम समयमा सो क्लवले आउन नसक्ने जानकारी गराएको क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए । पारो फुटबल क्लव भुटानको प्रिमियर लिग च्याम्पीयन क्लव भएको आयोजक सहारा क्लवको दाबी छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उपाधि बिजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उपबिजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच ट्रफी र नगद पुरस्कार सहारा युकेले प्रायोजन गर्ने जनाइएको छ ।
प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर र क्वाटरफाइनल खेलका लागि साधारणतर्फ एक सय र भिआइपीतर्फ २ सय रुपैयाँ निर्धारण गरिएको छ भने सेमीफाइनलमा साधारणतर्फ २ सय र भिआइपीतर्फ ४ सय तथा फाइनलमा साधारणतर्फ ३ सय भिआइपीतर्फ ५ सय रुपैयाँ कायम गरिएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख ३ हजार लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट १ करोड ८६ लाख ७५ हजार आम्दानी गरेर ३७ लाख ७२ हजार बचत गर्ने लक्ष्य लिइएको महासचिव अधिकारीले बताए ।
२०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिताको यस वर्षको संस्करणलाई पनि हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! र रारा चाउचाउले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने जनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना असहायः बालकहरु आश्रित छन् । उनीहरुलाई शिक्षा, दीक्षा, खेलकुद प्रशिक्षणलगायत निःशुल्क रुपमा गरिदै आएको छ ।